हकप्रद र बोनस सेयर आउने दिन नजिकियो भन्दै इन्सुरेन्सको सेयरमा झुम्मिए लगानीकर्ता, कसको कति आउला ?

 काठमाडौं : मर्जर प्रक्रिया पूरा गरेर पनि पुँजी पुर्याउन नसकेका बिमा कम्पनीहरुलाई बिमा प्राधिकरणले हकप्रद सेयर जारी गर्न दिने भएको छ । बिमा प्राधिकरणका प्रवक्ता राजुरमण पौडेलले मर्जरपछि पनि जीवन बिमा कम्पनीको पुँजी ५ अर्ब र निर्जीवनको साढे २ अर्ब पुगेन भने उनीहरुलाई हकप्रद जारी गर्ने दिइने बताएका हुन् । 

उनले भने, ‘मर्जरमा गइसकेको तर पुँजी नपुगेका बिमा कम्पनीहरुलाई हकप्रद सेयर जारी गर्न दिइन्छ । तर मर्जमा नगएका कम्पनीहरुलाई भने यस्तो व्यवस्था हुने छैन।’ 
बिमा प्राधिकरणले २०७८ चैतमा जीवन बिमालाई ५ अर्ब र निर्जीवनलाई साढे २ अर्ब पुँजी पुर्याउनु निर्दैशन दिएको थियो । यो निर्दैशन जारी भएसँगै बिमा कम्पनीहरुले धमाधम मर्जर सम्झौता गरेका थिए । हाल अधिकांश कम्पनीहरु मर्ज भएर एकीकृत कारोबार पनि सुरु गरिसकेका छन् ।
तर कतिपय कम्पनीको पुँजी भने मर्ज भएर पनि प्राधिकरण तोके अनुसार पुगेको छैन । उनीहरुले थप क्यापिटल बढाउन अब बोनस वा हकप्रद सेयरको सहार लिनुपर्ने देखिएको छ ।
 यही बोनस र हकप्रद पाइने भएकाले अहिले बजारमा बिमा कम्पनीहरुको सेयर भाउमा तीब्र वृद्धि देखिएको जानकारहरु बताउँछन् । त्यसो त बिमा प्राधिकरणले यही असार मसान्तभित्र पुँजी पुर्याउन बिमा कम्पनीहरुलाई निर्देशन दिएको छ । यसआधारमा यी कम्पनीहरुले निकट भविष्यमै बोनस तथा हकप्रद सेयर घोषणा गर्न सक्ने देखिएको छ ।
 अर्थात्, बिमा प्राधिकरणले दिएको निर्देशन कार्यान्वयन हुने हो भने बिमा कम्पनीहरुले यही असार महिनाभित्र पुँजी वृद्धि गरिसक्नुपर्ने हुन्छ । यसआधारमा बिमा कम्प्ननीहरुको पुँजी पुर्याउनका लागि हकप्रद वा बोनस जारी गर्ने समय निकै नजिक आइसकेको छ । यही भएर पनि बिमा कम्पनीहरुको सेयरमा सर्वसाधारण लगानीकर्ताको बेस्सरी आकर्षण बढेको अनुमान गरिएको छ । 
जेठदेखि अहिलेसम्म आइपुग्दा निर्जीवन बिमा समूहमा ३०% र जीवन बिमा समूहतर्फ २५% को वृद्धि भइसकेको छ । मर्ज भएर पनि पुँजी पर्याउन नसकेका जीवन बिमा कम्पनीहरुमा सूर्यज्योति लाइफ, प्रभु महालक्ष्मी, सानिमा रिलायन्स लाइफ रहेका छन् । 
सूर्यज्योति लाइफको चुक्ता पुँजी ४ अर्ब ५४ करोड ५५ लाख ७१ हजार रुपैयाँ रहेको छ । यसलाई अब करिब ५० करोड रुपैयाँ थप पुँजी आवश्यक पर्ने देखिन्छ । त्यस्तै, मर्जर प्रक्रियामा रहेको प्रभु लाइफको २ अर्ब १९ करोड ६० लाख र  महालक्ष्मी लाइफको २ अर्ब १० करोड रुपैयाँ बराबरको पुँजी रहेको छ । 
यिनीहरु १ बराबर १ को सेयर स्वाप रेसियोमा मर्ज हुन लागेका हुन् । मर्जरपछि यिनीहरुको पुँजी ४ अर्ब २९ करोड ६० लाख रुपैयाँ पुग्नेछ । एकीकृत कारोबारपछि यसले ९० करोड रुपैयाँ बराबरको प्रिमियम मूल्यमा एफपीओ जारी गर्ने जनाएको छ । 
यसैगरी, लाइफ इन्सुरेन्स कर्पोरेसन नेपाल (एलआइसी नेपाल) ले भने ८८.४५% हकप्रद जारी गर्ने भएको छ । यस्तै, सानिमा रिलायन्स लाइफको पुँजी हाल ४ अर्ब १८ करोड ४० लाख रुपैयाँ रहेको छ । यसलाई ८० करोडभन्दा धेरै थप पुँजी आवश्यक पर्नेछ । 
 यता, हालसम्म पनि आइपीओ जारी नगरेका बिमा कम्पनीहरुले भने प्रिमियम मूल्यमा सेयर निष्कासन गर्ने तयारीमा छन् । उनीहरुले प्रिमियमबापत उठेको रकमा संकलन गरेर बोनस सेयर वितरण गरेर पुँजी बढाउन खोजेको देखिन्छ । 
यस्तै, निर्जीवन बिमातर्फ सानिमा जीआइसी इन्सुरेन्सको पुँजी २ अर्ब रुपैयाँ पुगेको छ । बिमा प्रधिकरण तोकेअनुसार यसले पनि थप ५० करोड रुपैयाँ अर्थात, २५% पुँजी बढाउनु पर्नेछ । 
त्यस्तै, मर्जरपछि बनेको हिमालयन एभरेष्ट इन्सुरेन्सको पुँजी २ अर्ब ३० करोड १५ लाख रुपैयाँ रहेको छ । यसले २० करोड रुपैयाँ पुँजी थप गर्नुपर्ने देखिन्छ । यसैगरी, युनाइटेड अजोडको पनि चुक्ता पुँजी १ अर्ब ९० करोड रुपैयाँ रहेको छ । यसलाई पनि थप पुँजी बढाउन आवश्यक पर्ने देखिन्छ । 
१ बराबर १ को सेयर स्वाप रेसियोमा मर्ज भएका बिमा कम्पनीहरुलाई २५% भन्दा धेरै पुँजी बढाउन आवश्यक देखिंदैन । यसअघि पनि केही वर्षअघि बिमा कम्प्पनीहरुमा पुँजी वृद्धि गरिएको थियो । त्यतिबेला जीवनको चुक्ता पुँजी २ अर्ब र निर्जीवन बिमाको १ अर्ब कायम गर्न भनिएको थियो ।  
सामान्यतयः कम्पनीहरु समान हैसियतमा मर्ज हुन्छन् भने जीवनको न्यूनतम ४ अर्ब रुपैयाँ हाराहारीमा र निर्जीवनको २ अर्ब रुपैयाँजति पुँजी पुग्ने देखिन्छ । तर स्वाप रेसियो समान छैन भने पुँजी अझै बढाउनुपर्ने हुन्छ । 
युनाइटेड अजोडबाहेक अरु कम्पनीले २५% हकप्रद जारी गरे पनि बिमा प्राधिकरणले तोके अनुसार पुँजी पुग्ने देखिन्छ । त्यसो त, सबै कम्पनीले हकप्रद नै जारी गर्छन् भन्ने पनि हुँदैन । नेको, राष्ट्रिय बिमा कम्पनी लगायतका दरिलो कम्पनीले बोनस सेयर दिएर पनि पुँजी पुर्याउन सक्छन् । यस्तै, शिखर इन्सुरेन्सले तोकिएको न्यूनतम पुँजी पुर्याइसकेको अवस्था छ ।

Comments

Popular posts from this blog

जुलाई–अगस्ट सेयर बजारका लागि गोल्डेन समय नै हो त ? विगतमा नेप्सेले प्रायः यही बेला टप लगायो