जुलाई–अगस्ट सेयर बजारका लागि गोल्डेन समय नै हो त ? विगतमा नेप्सेले प्रायः यही बेला टप लगायो

काठमाडौं : सेयर लगानीकर्ताका लागि जुलाई र अगस्ट महिना निकै सुखद् सबित हुँदै आएको छ । बजारको इतिहासलाई हेर्दा प्रायः यो २ महिनामा नेप्से सूचक निकै बढेको देखिन्छ । २३ वटा जुलाई–अगस्ट महिनामध्ये १६ पटक बजार बढेको देखिएको छ । यही बेला नेपाली नयाँ आर्थिक वर्ष सुरुवात पनि हुने गर्छ । नयाँ आर्थिक वर्ष लागेसँगै कम्पनीहरुले गत वर्षको वित्तीय रिपोर्ट सार्वजनिक गर्न थाल्छन् । त्यसपछि क्रमशः उनीहरुले लाभांश प्रस्ताव गर्न सुरु गर्छन् । यसका साथै, बैंकहरुले नयाँ कर्जा परिचालन पनि तीब्र पार्छन् । लगानीकर्तासँग तरलता सहज हुने भएकाले बजारले गति लिने गरेको जानकारहरु बताउँछन् ।प्राविधिक विश्लेषक सुवास चन्द्र ढुंगाना जुलाई र अगस्ट महिनालाई गोल्डेन मंन्थका रुपमा चिनिने गरेको बताउँछन् । उनले भने, ‘यी दुई महिना सूचीकृत कम्पनीहरुको चौथो त्रैमासको रिपोर्ट आउने समय हो । त्यसैले स्मार्ट मनिहरु, जसको पहुँच पनि छ, उनीहरुले सूचना लिक गर्न पनि सक्छन् । त्यो हिसाबले रिपोर्ट कस्तो आउँछ भन्ने अनुमान पनि लगाइएको हुन्छ । यो सयम सेयर किन्ने भनेको गत वर्षको लाभांश खानलाई पनि हो।’ त्यसो त, अब विस्तारै सूचीकृत कम्पनी तथा म्युचुअल फन्डहरुले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश प्रस्ताव गर्न पनि सुरु गर्छन् । लाभांश दिँदै आएका कम्पनीहरु २–३ सय रुपैयाँभन्दा कम मूल्यमा पाउन सकिन्छ । खासगरी बैंकको सेयर २०० रुपैयाँ भन्दा कम भाउमा पाउन सकिन्छ । यो समयमा लगानीकर्ताले सस्तोमा सेयर खरिद गरेर लाभांश हात पार्न खोजेको मान्न पनि सकिन्छ । ढुगांनाले भने ‘असार मसान्तपछि बैंकहरुले कर्जा पनि प्रवाह गर्न सुरु गर्छन् । ट्रेडिङको लागि कर्जा लिएर सेयर किन्ने पनि बढ्छन् । त्यसैले अधिकांश वर्ष जुलाई र अगस्टमा बजार बढेको देखिन्छ।’ प्रायः यही महिनामा बजारले बुलको टप लगाएको समेत उनले बताए । यता, नेप्सेको चार्ट हेर्ने हो भने पनि बजारले प्रायः जुलाई र अगस्टमै टप लगाएको देखिएको छ । इन्डेक्सले ३२०० को अल टाईम हाई विन्दु छोएको पनि अगस्ट महिनामै हो । यता, बैंकहरुले क्लोजिङको समय अर्थात, असारमा खासै नयाँ कर्जा परिचालन गर्दैनन् । पुराना ऋणीले पनि यो महिना ब्याज र किस्ता बुझाउनुपर्ने दबाब हुन्छ । त्यसैले पनि पछिल्लो समय बैंकमा तरलता धेरै देखिएको छ । सीडी रेसियो ८१ प्रतिशत वरपर छ । केन्द्रीय बैंकले रिभर्स रिपो जारी गरेर अरबौं रुपैयाँ बजारबाट तानेको छ । यसले पनि बैंकमा लगानीयोग्य रकम रहेको देखाउँछ । साउन महिनाका लागि कतिपय बैंकहरुले ब्याजदर घटाएका छन् । यस्ता विभिन्न कारणले गर्दा पनि बजारले गति लिएको बजारका जानकारहरुको तर्क छ ।तर सूचकको गति हेर्दा बजारले तत्काल नै नयाँ हाई बनाउने सम्भावना भने धेरै कम रहेको जानकारहरु बताउँछन् । हाल नेप्से इन्डेक्स २१ सय विन्दुमाथि छ । यसले ३२ सयको हाईलाई यति कम समयमा क्रस गर्ने सम्भावना भने नदेखिने विश्लेषकहरु बताउँछन् । तर ढिलोचाँडो यो एरिया भने ब्रेक हुनेमा उनीहरु विश्वस्त छन् । मंगलबार साउन २ गते सूचक ९.९१ अंकले बढेर २१५४.०७ विन्दुमा पुगेको छ । गत मे महिनामा १८ सय वरपर रहेको इन्डेक्स अहिले बढेर यो विन्दुसम्म आएको हो ।

Comments

Popular posts from this blog